परिचयः
प्रदेश सरकार(मन्त्रिपरिषद्) को मिति २०७६/०८/२७ को निर्णयबमोजिम साविकमा संघ मातहत रहेको यस कार्यालय लुम्बिनी प्रदेशका पुरातात्त्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको विकास गरी पर्यटन प्रवर्द्धनका लागि नीति तथा कार्यक्रमको तर्जुमा, बजेट तथा कार्यक्रम कार्यान्वयन, अनुगमन, मूल्याङ्कन गर्ने तथा पर्यटन नीतिका विषयमा पृष्ठपोषण प्रदान गर्न स्वीकृत संगठन तथा ब्यवस्थापन सर्वेक्षण बमोजिम मिति २०७६/११/१२ देखि पर्यटन डिभिजन कार्यालय , बाँके को रुपमा स्थापना भई सञ्चालनमा रहेको छ।साथै,लुम्बिनी प्रदेशका पश्चिम भेगका ६ जिल्लामा भाषा-संस्कृति तथा पर्यटन प्रवर्द्धन सम्बद्ध कार्यक्रमहरु कार्यान्वय गर्ने निकायको रूपमा यस कार्यालयको कार्यक्षेत्र परिभाषित गरिएको छ।
लुम्बिनी प्रदेशमा धार्मिक तथा सांस्कृतिक पर्यटनसँगै प्राकृतिक, साहसिक, ग्रामीण र पर्यापर्यटनको ठूलो सम्भावना रहेको छ। यहाँ रहेका राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी तथा वन्यजन्तु अवलोकन गर्न सकिन्छ भने विभिन्न जिल्लाका गाउँहरूमा स्थानीय संस्कृति, कला, परम्परा र खानपानको अनुभव लिन सकिन्छ। पर्यटन पूर्वाधारको विकास, पर्यटकीय स्थलहरूको संरक्षण, प्रभावकारी प्रचार–प्रसार र स्थानीय समुदायको सहभागिता बढाउन सके यस प्रदेशमा पर्यटकको संख्या उल्लेख्य रूपमा बढाउन सकिन्छ। यसबाट रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजार विस्तार र प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदानका माध्यमबाट "समृद्ध प्रदेश र खुशी जनता" भन्ने प्रादेशिक लक्ष्य प्राप्तिमा टेवा पुर्याउन र पर्यटन सेवालाई जनताको घरदैलोसम्म पुर्याउन यो कार्यालय स्थापना गरिएको हो।
कार्यक्षेत्रः यस कार्यालयको कार्यक्षेत्रभित्र लुम्बिनी प्रदेशका पश्चिमी भेगका ६ वटा जिल्लाहरूलाई समेट्छ:
1. बाँके २. बर्दिया ३. दाङ ४. प्यूठान ५. रोल्पा ६. रुकुम(पूर्व)
मुख्य उद्देश्यहरुः
यस कार्यालयले सम्पादन गर्ने मुख्य कार्यहरू निम्न बमोजिम रहेका छन्:
सेवा प्रवाह र नियमन: पर्यटक स्तरका होटल, रिसोर्ट, ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी, गाइड आदिको दर्ता, अनुमति र नवीकरण।
पूर्वाधार विकास: प्रादेशिक पर्यटन नीति अनुसार पर्यटकीय स्थलहरूमा आवश्यक भौतिक पूर्वाधार निर्माणमा समन्वय र कार्यान्वयन।
प्रवर्द्धन र प्रचार: पर्यटकीय गन्तव्य, होमस्टे तथा स्थानीय संस्कृतिको प्रचार-प्रसार र बजारीकरण।
तथ्यांक व्यवस्थापन: पर्यटकहरूको तथ्यांक अभिलेख राख्ने र पर्यटकीय सूचनाहरू अध्यावधिक गर्ने।
विविध पर्यटन: पर्यापर्यटन, साहसिक पर्यटन, ग्रामीण र खेलकुद पर्यटनको विकास र विस्तार।
समन्वय: पर्यटक प्रहरीको व्यवस्थापनमा सहयोग र पर्यटकहरूको उद्धार कार्यमा सहजीकरण।यस कार्यालयले यस क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाहरूको दिगो उपयोग गर्दै पर्यटनलाई प्रदेशकै आर्थिक विकासको प्रमुख संवाहकको रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको छ।
कार्यालयको ठेगानाः कोहलपुर नगरपालिका, वडा नं. 11, बाँके